Thursday, August 13, 2015

चंगा चेट


दशैँ नजिकिदै थियो, केटाको SLC पनि आउन लाग्यो  टुकीमा पढ्न गाह्रो भो एउटा सोलार ल्याउ हौ बुढिया बाले ममिसंग घरसल्लाह गरेको खाना खादै गर्दा सुनियो! ओहो सोलार बत्ति झिलिमिली उज्यालो सम्झदै फुरुंग भैयो l 

केहि दिन पछि स्थानीय ब्यापारी राम दाई र केहि भरियाहरु सोलार प्यानल, VOLTA ब्याट्री र चिमहरु लिएर हाम्रो घरको आगनबाट मतानको छाना तिर हेर्दै गरेको देखियो, एकैछिनमा छानाको दक्षिणपट्टि जस्तामा प्वाल पारियो पैयुको थाम माथी दक्षिणपुर्वतर्फ फर्किएको सोलार प्यानल छानामा टलक्क देखियो l


सोलार बत्ति बल्यो घर पुरै उज्यालो देखियो तर आफ्नो मनमा भने दशैँ नजिकिदै गर्दा रेडियो नेपालमा सुनेको देवी र दानवको लडाई टिभीमा हेर्ने रहर औधी जागृत भएर आयो l


हामि सबै छोराछोरी मिलेर बासंग कनकन गर्न थाल्यौ मेघराज मामाकोमा भएको जस्तै, लाहुरे हजुरबाकोमा भएको जस्तै ब्ल्याक एण्ड ह्वाईट टिभी किनेर ल्याउनु भनेर l हाम्रो जिद्धिको अघि केहि नलागेर बा झर्नुभयो गाईघाट तिर l 


एक हप्ता पछी हातमा प्लाष्टिकले बेरिएका स्टिलका कुनै लामा कुनै छोटा सिन्काजस्ता (एन्टेना भनिदो रहेछ) बस्तु र ढाडमा तन्नाले पोको पारेर पुक्क उठेको पोको (भित्र त्यहि ब्ल्याक एण्ड व्हाइट टिभी रहेछ) बोकेर बा देखिनु भयो पर सिताराम मामाको घरमुनि बाटोमा, स्वास अड्काएरै उत्साहित आँखा लिएर बालाई लिन दगुर्दै गए पर बाटोसम्म हस्यांगफस्यांग गर्दै l


भोलिपल्ट उनै रामदाई हाम्रो आँगानमा एन्टेना जोड्दै थिए घर मुनि थुपारेको बाँसको थुप्रोबाट खिरिलो मज्जाले सुकेको र लामो मलिबास निकाले एन्टेना जोडजाड र कसकास बनाए मतानको पश्चिम पट्टि एन्टेना गाडियो, टिभी बाको कोठामा राखियो, खोल्दा झिरिरी देखियो, उनि च्यानल आउने गरि मिलाउन थाले मलाइ बिस्तारै एन्टेना घुमाउन लगाएभित्रबाट आवाज आयो नघुमा च्यानल टिप्यो दगुर्दै भित्र गएर हेर्दा माथिपट्टी मन्दिर जस्तो चिन्ह र नेपाल टेलिभिजन भएको लोगो देखियो टिभीमा गित बज्दै थियो केहि नाच्दै थिए , नौलो थियो त्यो माहोल मेरोलागि l

देवी र दानवको लडाई हेर्न भनेर आँखा नझिम्काई टिभी अघि बसियो तर त्यो रहर कहिले पुरा भएन बरु स्कुलमा पढिएको धेरै सुनिएको तर आँखा अगाडी कहिले नदेखिएको चंगा देखियो घुरुरु लट्टाई घुमाउदै उडेको बहुत रमाईलो लाग्ने दृश्य, यसैगरी चंगा उडाउन पाए त अहो कति रमाईलो हुदो हो, नयाँ रहरले डेरा जमायो मनभित्र l

सुरुमा लट्टाईले मन तान्यो चंगा उडाउन पनि जरुरि थियो लट्टाईको!

घरबाट खुकुरी बोकेर निस्किए लट्टाई बनाउन बाँसको टुक्रो खुर्किएर साना साना गोला भाटा बनाए एउटा अलि मोटो र लामो सहित अब दुई गोला काठका टुक्रा चाहिन्थे लट्टाई बनाउन, मसंग चटक्क परेका गोला काठका टुक्रा थिएनन्!
लट्टाई जोड्ने टुक्रा नभएकै कारण मेरो चंगा उडाउने रहर रहरभित्रै सिमित होला जस्तो भयो, मतानभित्र पुराना काठ राखेका ठाउमा पनि गए तर लट्टाईको लागि उपयुक्त टुक्रा कतै  भेटिएनन!

चंगा उडाउने रहर पुरा नहोला झैँ देखिदैथियो ठ्याक्क सोहि बेला टेक्दा टेक्दा कुर्कुच्चाको भागपट्टी खिईएर प्वाल परेको  पुरानो हात्तीछाप चप्पल आश बनेर टल्कियो जुठेल्नामा, गज्जब!! खुशीले फुरुक्क पर्दै त्यतै दगुरे, जादा जादै त्यसको जोडीपनि देखियो जुठेल्नाको भित्तामा, दुईटा चप्पल बोकेर कुदेर गएर धारामा पखालेर मोटो नखुईलिएको भाग खुकुरीले गोलो हुनेगरी मिलाएर काटेर छेउछेउमा छोटा बासका टुक्राले जोडियो बीचबाट दुबैतर्फ समात्न मिल्नेगरी ठुलो टुक्रा घुसाईयो, एकैछिनको मेहनतले हेर्दा हेर्दै गज्जब लट्टाई तयार भयो l

लट्टाईमा बेर्न दह्रो खालको तिन टोटा जति गोल्टिन धागो को जुगाड गर्न खासै दिमाग लगाउन परेन बाको कोठाभित्र छिरेर इस्टकोटको खल्ती भित्रको साँचोले बाको खाटमुनी रहेको ट्यांकाको चाबी खोलेर १५ रुपिया निकाल्दा पुगिगयो  l

लट्टाई बनाउन भन्दा ठुलो समस्या आईपर्यो पुच्छर जोडिएको चंगा बनाउन !!


चारपाटा मिलेको बर्गाकार ठुलो खाले कागज को लागि आफ्ना हरेक कपि हेरे कुनै उपयुक्त देखिएनन् ,दिमागको बत्ति बल्ने बित्तिकै बाको कोठामा छिरेर निदालमा सिउरेको स्कुलमा विद्यार्थीले जाँच दिएको र बाले चेकजाच गरेर राखेको पुरानो कपिको मुठो निकालेर एउटा उत्तरकपिको बिचको पाना स्वाट्ट तानेर निकालियो अनि मिलाएर बर्गाकार पारेर च्यातियो l


त्यो कागजलाई चंगाकार दिन बडो मुस्किल आईपर्ने भयो कसरि जोड्ने कसरि उड्न योग्य बनाउने अहँ कुनै आईडिया आएन, त्यै बेला छिमेकको छोरा सहरमा बसेर पढ्ने केटोलाई आउछ कि भनेर बोलाए त्यो बिकट ठाउमा चंगा उडाउने मेरो रहर देखेर चकित पर्यो तर चंगा बनाउन सहयोग गर्ने भयो, जोस्सिदै भन्यो मैले देखेको छु चंगा सक्छु बनाउन l

कर्द, पानिटेप, बाँसको भाटा उ भन्दै गयो म सामान जुटाउदै गए l कर्दले साना साना खिरिला दुईटा बाँसका सिन्का बनायो एउटालाई छड्के पारेर एक कुनाबाट अर्को कुनामा राख्यो अनि एउटालाई U आकारको बनाएर टेप को माध्यमले टाँस्दियो , मैले अर्को पन्ना च्यातेर पुच्छर बनाए अनि टेपले एउटा कुनामा टाँसिदिए l दुइटा सिन्का जोडिएको ठाउ र अर्को एक ठाउ सानो प्वाल पारेर पछाडी बाट धागो छिरायो र बाध्यो उसले हेर्दा हेर्दै उड्ला उड्ला जस्तो देखिने होममेड चंगा तयार भयो , भुईमा खुट्टा थिएनन् सायद चंगा हातमा समाउदा l

धागो लट्टाईमा बेरियो, अब चंगा घरमा उडाउ ? अहँ हुदैन हुदैन त्यो जंगल बिचमा उडाएर कसले देख्ने? एक हातमा लट्टाई एक हातमा चंगा बोकेर तिब्र रफ्तारमा स्कुलको चहुरतिर दौडिए , मेरो हातमा नयाँ कुरो देखेर बाटोमा देखेका केटाकेटीहरु नि पछी पछी बेगले दौडदै हल्ला गर्दै आउदै थिए l

चंगाको र लट्टाईको धागो बाधियो र अलि पर लगेर एउटालाई चंगा आकाश तिर हुर्याउन लगाएर आफु लट्टाई समातेर बसियो बिस्तारै चंगाले आफ्नो गति लियो माथि आकाशमा उड्दै देखियो , केटाकेटीहरु हेर्दै रमाउदै कुदेको दृश्य आँखा अघि नै देखिदैथियो त्यो भन्दा बढी रमाउदै कुद्दै थियो मेरो मन नाच्दै थियो चंगाको गति संगै हुईकिदैथियो आकाशमा चंगा संगै l


माथि देखिने डाडोको उचाईलाई तल पार्ने गरि चंगा आकाशमा देखिदैथियो हातमा लट्टाई घुम्दै थियो फनन र धागो आफैसंग लिएर उड्दै थियो चंगा आफ्नै गतिमा स्वच्छन्द घुम्दै थियो निलो आकाशमा l


एक्कासि धागो सकियो लट्टाई बाट चंगा फुत्कियो धागोको मुख लट्टाईमा बाध्न बिर्सिएको रहेछु चंगा उडाउने उमंगमा, के गरौ गरौ दोधार हुदा हुदै चंगा उडिरह्यो धागो आफुले भेट्ने उचाई भन्दा माथि पुगिसकेको थियो समाउन खोज्दा खोज्दै टाढा भैसकेको थियो!

चेट भएको रहेछ मेरो चंगा, अब मेरो काम चंगा जता जता जान्छ उतै पचिपछी दगुर्नु मात्र थियो दगुरिरहे पछिपछि जबसम्म चंगा स्कुल भन्दा अलि परको उत्तिसको रुखको टुप्पामा अड्किएन, एसो चंगातिर हेरे निराश हुदै, धागो जेलिएको थियो उत्तीसका हाँगाहरुमा र त्यो चंगा मैतिर हेरेर मुस्कुराई रहेको झैँ देखिन्थ्यो...        

Monday, August 3, 2015

मम महात्म्य.. कथा हाम्रै

मम महात्म्य.. कथा हाम्रै

मेहनती थिए उनि J

उनि अर्थात हामि मालिक भन्थ्यौ तर उनि हाम्रा मालिक मात्र नभएर जन्मदाता थिए रेखदेखकर्ता थिए कति सम्म ख्याल गर्थे भने अविरल बर्षातबाट हामीलाई जोगाउथे, बिहानीको शित हाम्रो छेउछाउ सम्म पर्न सक्दैनथ्यो, खानपान मा बिशेष ध्यान पुर्याउथे यसकारण हामि स्वस्थ थियौ, हामि हृष्टपुष्ट थियौ l

उनको बासस्थानबाट हामी नजिकै थियौ त्यसैले त हाम्रो खुबै रेखदेख गर्ने गर्दथे, हामी छुट्टै प्रजातिका थियौ, हाम्रो शरीरमा बिशेष किसिमको पत्र थियो, हाम्रो सपरिवार बन्दा प्रजाती उनको बारीमा हुर्कदैथियौ रमाउदैथियौ उनि हाम्रो संरक्षक हुनुको बिशेष फाईदा थियो हामीलाई, हामीलाई कसैको डर थिएन l

हाम्रो छिमेकी थिए अत्यन्त मिलनसार उनीहरु जमिन मुनि बस्दथे, हाम्रो भन्दा भिन्न आलु प्रजातिका थिए तर सबैसंग मिल्न सक्थे उनीहरु अझ स्वर्ग गएपछि उनीहरुको मिलन क्षमता बिशेष हुने गरेको हाम्रो संस्कार शिक्षक सधै हामीलाई बताउनुहुन्थ्यो l

हरेक सुरुवातको निश्चित अन्त्य हुन्छ रे, भयो यस्तै एकदिन हामि सबैको मृत्यु हुने निश्चित भयो हाम्रो गुरुले खुब सम्झाउनुभयो दुखि हुन पर्दैन सबै जाने बाटो त्यहि हो, उ हेर त त्यति मिलनसार भएर बसेका आलुहरु पनि भटाभट खनिदैछन, हामीले चित्त बुझायौ हाँसीहाँसी अन्त्य स्वीकार गर्यौ l

अब हामीमध्य कर्मका आधारमा कोहि स्वर्ग जाने भयौ कोहि नर्क, नर्क जानेहरुलाई बिर्सियौ हामीले र स्वर्ग जानेको नेतृत्व गर्दै मालिकको घर जुन हाम्रो स्वर्ग थियो त्यतै लम्कियौ, हामीलाई बस्ने बिशेष बासस्थानको व्यवस्था थियो जसलाई भकारी भनिन्थ्यो l

त्यहाँ पनि हाम्रा छिमेकी उनै स्वर्ग आएका आलुहरु थिए उनीहरुको मिलन क्षमता साच्चै हाम्रो गुरुले भनेजस्तै बिशेष थियो उनीहरु नमिल्ने भन्ने कोहि थिएनन त्यहाँ, उनीहरुको र हाम्रो भकारी संगसंगै थियो l अब हामीलाई यहि स्वर्गीय जीवन रमाईलो लाग्न थालेको थियो पछिल्लो बारीको जीवन बिस्तारै भुल्दै भुल्दै जान थाल्यौ l

एकदिन हामि मध्य केहि भकाभक बोरामा हालिदै थियौ, किन भनेर अलमल हुदाहुदै भकाभक बोरा भरेर कसियो बोराको प्वालबाट केहि दृश्य धमिलो धमिलो देखिदैथियो, मालिक प्रफुल्लित थिए हातमा केहि थान कागज समाएका थिए तर उनको खुशी देखेर हामीले सबै बिर्सियौ बोरामा कुच्चिनुको पिडा एकैठाम स्वास फेर्न मुस्किल हुने गरि कोचिनुको पिडा, आखिर उनको हातमा त्यो लक्ष्य थियो जसको लागि उनले हाम्रो रेखदेख र संरक्षण गरेका थिए, मालिकलाई उनको लक्ष्यमा पुर्याउन सकेकोमा अब हामीले पनि खुशी हुनु थियो नै, संगै फेरी कसैले नयाँ उद्धेश्य को लागि हामीलाई खरिद गरेको थियो उसको लक्ष्य पुरा गरिदिन पर्छ भन्ने मात्र सोच्न थाल्यौ र उसंगै हुईकियौ नयाँ संसारतिर हामीसंग थिए केहि उनै आलु छिमेकीहरु , हाम्रा मालिक हरु फेरिदै गए जो निश्चित उद्धेश्यको लागि हामीलाई अरुलाई सुम्पिरहन्थे हामी हरेक नयाँ मालिकलाइ लक्ष्यमा पुर्याउन हरतरहले मेहनत गरिरहन्थ्यौ l

यसरि केहि समयको घुमघाम पछी एकदिन हाम्रो नयाँ मालिकले बोराबाट गुटुटु भुईमा खन्याए, टाउको गएर भित्तामा जोतियो के टाउको भन्नु पुरै जिउ टाउको जस्तो भएपछी जिउ नै गएर बजारियो भनौ न, दुख्न नपाउदै छेउमा चपिंग बोर्ड र धारिलो चक्कु देखेर सातो मात्र गएन!! L केहि समयको अन्तरालमा कपडा खोल्दिए चपिंग बोर्डमा धारिलो चक्कुले टुक्राटुक्रा हुने गरि काटे छियाछिया हुने गरि छिमले असह्य पिडा भयो आफ्ना दुख सुनाउने कोहि देखिएनन् सबै आफ्नै पिडामा बरबर रुदै गरेको मात्र देखियो, हामीलाई उचालियो पछारियो हामिलाई भकभक उमल्दै गरेको पानीमा उसिनियो, त्यो समयको पिडा मात्र बर्णन गर्न एउटा महाभारत काफी नहुन सक्थ्यो, हामीलाई अरु अरु बस्तु संग मोलमाल पारियो हाम्रा मिलनसार छिमेकी आलुहरु त्यहाँ भेटिए उनीहरु पनि दर्द बोकेर निन्याउरो अनुहारमा देखिन्थे l

सधै हाँसीखुशी मात्र कहाँ हुन पाईदो रहेछ र फेरी हाम्रो नयाँ मालिकले हामीलाई अरु नै चिजमा रुपान्तरण गर्न गरेको लगानी गरेको सम्झिए, उनको लक्ष्य पुरा गरिदिनु पर्ने आफ्नो कर्तब्य सम्झिए र साथीहरुलाई सम्झाए सबै खुशी देखिए मेरो आँखामा फेरी आँसु देखिए खुशीका किनकि यसकै लागि हाम्रो उत्पादन गरिको थियो संरक्षण गरिएको थियो l

हामि अब हामि बन्दा मात्र रहेनौ हामि अब मिश्रीत किमा बनिसकेका थियौ, हामीलाई चिसो गिलो मैदाभित्र लपेटियो, बन्द बाकसमा थुनेर तातो पानीको बाफ दिइयो पिडाहरु बढ्दा थिए तर खुशी पनि थियौ यस अर्थमा कि अब हामीले धेरै पिडा भोग्नु थिएन केहि समयमै हामि परिपक्व मम बनिसकेका थियौ l

मम तयार भयो भन्दै एउटा लुरे मैला कपडा लगाएको केटोले बन्द बाकसको बिर्को घ्वाप्प उघारेर भित्ताको काँटीमा झुन्ड्यायो, साहुजी एक प्लेट मम दिनु न भन्ने आवाज पृष्ठभूमिमा झर्न नपाउदै ओई मम दे भन्ने आवाज नजिकै गुन्जियो संगसंगै हामी सजिसजाउ प्लेटमा पस्किईयौ भित्र कोठाको झकिझकाउ टेबल नजिकै झिलिमिली बत्ति नजिकै लगेर राखियौ l

कसैको लक्ष्यको नजिक पुग्दै थियौ हामि र सबै पिडा भुलेर बहुतै खुशी पनि थियौ !

पृष्ठभूमिमा गित गुन्जिरहेको थियो ‘कभी कभी मेरे दिलमे खयाल आता हे कि जैसे तुझ्को......’, सायद मम खान लागेको ग्राहक हामि तिरे हेरेर त्यहि गित गुनगुनाउदै हुँदो हो 


छेउको ममको हात समाए मैले गीतको ताल संगै खुशी साट्न र बिस्तारै गीतको धुन संगै हल्लिन थाल्यौ हामि नाच्न थाल्यौ रमाउन थाल्यौ त्यैबेला तिखो छुरा झैँ काँटा ढाडमा रोपियो तिख्खर तिलको छोप हालेको अचारमा बिरोल्बारोल पारियो फेरी पिडा महसुस भो अन्तिम पिडा तर दर्द भन्दा सबैलाई खुशी दिन सकेकोमा खुसि का आँशु झरे बरर अनि सिनेमाको रिल दौडिए झैँ सुरुदेखि मम हुन्जेल सम्मका घटना याद आईरहे फ्ल्यासब्याकमा.. हाम्रा मिहिनेती किसान मालिक देखि कालिमाटी बजारका आसमान साहुसम्म, हामीलाई ट्याक्टरमा राखेर काठमाण्डौ घुमाउने ढाक्रे क्यारियर्स देखि धरहराका मम ब्यापारी सम्म....