ए निद्राहरु हो!
जति सक्छौ बेचैनी देओ मलाइ
एक दिन तिमीहरुलाई जित्नेछन्
मेरा रहरिला सपनाहरुले l
ए भाग्यहरु हो!
जति बन न तिमीहरु खोटो
एक दिन तिमीहरुलाई पल्टाउनेछन्
मेरा कर्मयोगी पाखुराहरुले l
ए चोटहरु हो!
जति प्रहार गर्नु छ गर यो छातीमाथि
एक दिन तिमीहरुलाई छेक्नेछन
तिम्रै प्रहारले बज्र बनेका छातिले l
ए दुश्मनहरु हो!
जति हास्छौ हाँस म माथि
एक दिन तिमीहरुलाई रुवाउनेछन्
मेरा ओठका मुस्कानहरुले ll
ए रहरहरु हो!
अलिकति उर्जा देओ मलाइ
तिमीहरुले दिएको उर्जा बालेर
बाँच्न सकु संसारतिर हेरेर l
ए खुट्टाहरू हो!
अलिकति बलिष्ठ बन तिमीहरु
तिमीहरुले दिएको बलमा उभिएर
नाच्न सकु संसारतिर हेरेर l
ए आफन्तहरु हो!
अलिकति बिश्वास देउ मलाई
तिमीहरुले दिएको भरोसा देखेर
रमाउन सकु संसारतिर हेरेर l
ए साथीहरु हो!
अलिकति हिम्मत देउ मलाई
तिमीले दिएको हिम्मतमा टेकेर
हाँस्न सकु संसारतिर हेरेर ll
-सन्तोष कटुवाल
No comments:
Post a Comment